Monday, November 2

माओवादीद्वारा देशभरका नगरपालिका र गाविस कार्यालय घेराउ


एकीकृत नेकपा माओवादीले आज देशभरका नगरपालिका र गाविस कार्यालयहरु घेराउ गरेको छ । नागरिक सर्बोच्चताको लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको माओवादीले आज दोस्रो दिनको कार्यक्रम अन्तर्गत देशभरका नगरपालिका र गाविस कार्यालयमा तालबन्दी गरी कामकाज ठप्प पारेको हो ।
यसका लागि विहान आठ बजेदेखि नै सम्बन्धित क्षेत्रका कार्यकर्ताहरु आफ्नो पायक पर्ने नगरपालिका र गाविस कार्यालयमा उपस्थित भएका थिए । माओवादी कार्यकर्ताहरुले सरकार बिरोधी नाराबाजी गर्दै कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।
माओवादी कार्यकर्ताहरुले काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका छन् । माओवादी तालाबन्दीका कारण कर्मचारीहरु कार्यालय प्रवेश गर्न नपाउँदा दैनिक कामकाज ठप्प भएको छ ।
भक्तपुरमा भने नगरपालिका कार्यालय मात्र घेराउ गरी तालाबन्दी गरिएको छ । भक्तपुरमा अन्य जिल्लाको तुलनामा जनाधार केही कमजोर भएको निष्कर्ष निकाल्दै माओवादीले नगरपालिका कार्यालयमा मात्र आफ्नो शक्ति केन्द्रीत गरेको स्रोतले जनाएको छ ।
माओवादीले बुधबार र विहीबार देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । दोस्रो चरणको आन्दोलनको पहिलो दिन आईतबार माओवादीले देशभर विशाल मशाल जुलुस प्रदर्शन गरेको थियो ।

No comments:

Post a Comment