Monday, November 16

कोइराला भेट्न प्रचण्ड सिङ्गापुरतिर

राजनीतिक गतिरोध बढिरहेका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सिङ्गापुर उड्नुभएको छ ।
पार्टीको प्रवासी संगठनको कामको लागि सिङ्गापुर प्रस्थान गएको भनिएपनि प्रचण्डले कोइरालासँग गम्भीर राजनीतिक गफ गर्ने श्रोतले बताएको छ । ‘सिङ्गापुरमा गिरिजाबाबुलाई पनि भेट्छु,’ सिङ्गापुर जानुअघि त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग प्रचण्डले भन्नुभयो, ‘तर, म पार्टीको कामको लागि नै मुख्यरुपमा गएको हुँ ।’ कोइराला सिङ्गापुरमा भएका बेला भएको प्रचण्डको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

रगतमा अक्सिजनको मात्रा कमी भएपछि कोइरालाले शनिबारदेखि सिङ्गापुरको टि्रपलवन समरसेटस्थित ग्लेनिगल्स अस्पतालमा स्वास्थ्य उपचार गराइरहनुभएको छ । कोइरालाको साथमा छोरी सुजाता र भतिज डा. शेखर पनि सिङ्गापुरमै हुनुहुन्छ ।

सिङ्गापुरमा रहँदा प्रचण्डले माओवादी निकट प्रवासी संगठनको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । प्रचण्डको साथमा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि सिङ्गापुर उडेका छन् । प्रचण्ड बैङ्ककमा डेढ घण्टाको ट्रान्जिट बस्दै सिङ्गापुर पुग्ने कार्यक्रम रहेको माओवादी प्रवक्ता दीनानाथ शर्माले अनलाइनखवरलाई बताउनुभयो । उहाँ दुई दिनपछि स्वदेश फर्कनुहुने छ ।

यसैबीच, पूर्व युवराज पारस साह पनि सोमबार दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको छ । प्रचण्ड र पारस १५ मिनेट फरकमा सिङ्गापुर उडेका हुन् । प्रचण्ड थाइ एयरको विमानबाट सिङ्गापुर प्रस्थान गर्नुभएको छ भने पारस त्यसको १५ मिनेट अगाडी सिल्क एयरको विमानबाट सिङ्गापुर प्रस्थान गर्नुभएको हो ।

No comments:

Post a Comment