Sunday, November 15

विराटनगर विमानस्थल अकस्मात बन्द

२०६६ कार्तिक २९ - बसाल्नै लागेको विमान एकाएक मोडिएर अन्तै जान्छ भने त्यतिबेला यात्रुको हालत कस्तो होला ? १३ हजार फिटबाट झर्दै विराटनगर विमानस्थल पुग्न लागेको बुद्ध एअरको एटीआर यात्रुलाई खबरै नगरी पूर्वको साटो पश्चिम मोडियो । क्याप्टेन एलबी नेपालीले उडिरहेको विमानमा परिचारिकालाई 'मौसम खराब भएकाले सिट बेल्ट बाँध्न' लगाए । आइतबार साँझ करिब पौने छ बजे विराटनगर ओर्लन लागेको जहाज फनक्क पश्चिमतिर मोडिंदा यात्रुहरु सुरुमा 'मौसम खराब' भएको लख काटे । तर पछि छक्क परे ।

पूर्व जाने जहाज पश्चिम मोडिएको २० मिनेटसम्म क्याप्टेनले केही बताएनन् । अनि परिचारिकाले भनिन्, 'विराटनगर विमानस्थल बन्द भएकाले हामीहरु काठमाडौं एअरपोर्ट जाँदैछौं ।'

विमानभित्र आश्चर्यचकित कोलाहल मच्चियो । क्याप्टेन नेपालीले फेरि प्रस्ट पारे, 'विराटनगर विमानस्थलमा विद्युत् आपूर्ति ठप्प भएपछि जहाज ल्याण्ड गर्न सकेन ।'

काठमाडौं ओर्लेेपछि सबैका मोबाइल बज्न थाले, 'विमान काठमाडौं फर्कियो.... ।' उक्त एटीआर विमान यात्रुले भरिएको थियो । गन्तव्यविमुख भएपछि यात्रुहरु कहाँ जाने अन्योलमा थिए ।

यता विराटनगर विमानस्थलमा आइतबार साँझ एकाएक विद्युत वितरण बोर्ड ठूलो आवाजमा पड्क्यो । 'विद्युत सर्ट' भएपछि केही क्षण अन्धकार र कोलाहल भयो । विमानस्थल पूरै अन्धकार भयो । विमानस्थलबाट राजधानी उड्नै लागेको यति एअरको विमान गुड्न लाग्दालाग्दै रोकियो भने राजधानीबाट उडेका दुई विमान विराटनगर आइपुग्न लाग्दा फर्काइए ।

नागरिक उडड्यन प्राधिकरण विराटनगरका प्रमुख सुधिर चौधरीले भने 'एकाएक ठुलो आवाज आएपछि विद्युत अवरुद्ध भयो । सबैतिर धुँवा नै धँुवा भयो । हामी सबै आत्तियौं अनि हत्त न पत्त विद्युत आपूर्ति बन्द गरेर दुर्घटनाबाट जोगायौं ।'

विमानस्थलमा इलेक्टि्रसियन नहुँदा यो समस्या आएको हो । काज सरुवा फिर्ता भएपनि राजधानीमा रहेका संजय चौधरी नआएको र भदौमा सरुवा भएका रामनिवास यादव कात्तिक २५ गते राजधानीमै गएपछि विमानस्थलमा विद्युत आपूर्ति हेर्ने प्राविधिकको समस्या भएको थियो ।

अर्काे इलेक्टि्रसियन नआई रमना पत्र नदिई राखेको यादवलाई माथिबाट बोलाएपछि बाध्य भएर पठाएको विराटनगर उनले बताए । विभागले विमानस्थलको संवेदनशिलतालाई नबुझ्दा झण्डै ठुलो दुर्घटना व्यहोर्नु परेको उनले गुनासो गरे । 'इलेक्टि्रसियन नहुँदा बाहिरबाट अरुलाई नै बोलाउनुपरेको छ ।'

विराटनगरबाट उडान भर्न तयार यति एयरका दुई र राजधानीबाट अग्निका दुई, बुद्ध र यतिका एक एक गरि छ उडान रद्द भए ।