Sunday, November 15

सीमामा काँडेतारको प्रस्ताव

२०६६ मंसिर १ - भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले नेपाल सीमामा काँडेतार लगाउने प्रस्ताव केन्द्र सरकारलाई पठाएको छ । दुवै मुलुकबीच करिब १८ सय किलोमिटर खुला सीमा छ । दुवै देशका नागरिकले सीमाबाट बिना रोकतोक ओहोरदोहोर गर्दै आएका छन् ।

भारतीय सरकारले आफ्नो क्षेत्रमा सीमाबाट ७ देखि १२ किलोमिटर दूरीमा एसएसबीको चौकी राखेको छ । सात सय किलोमिटर भारत-नेपाल सीमामा एसएसबीको नौ बटालियन तैनाथ रहेको गतवर्षको तथ्यांकमा देखिन्छ ।

उच्च भारतीय राजनीतिक स्रोतका अनुसार सन् २००९ को मे महिनामा भारतको केन्द्र सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा टावर स्थापना गर्न र बोर्डर क्षेत्रलाई सिल गर्ने प्रस्ताव मागेको थियो । 'पूर्ण स्थितिको आकलनपछि यो निष्कर्ष निकालिएको छ कि संवेदनशील क्षेत्रलाई तारजाली लगाएर मात्र घुसपैठलाई रोक्न सकिँदैन', एसएसबीले केन्द्र सरकारलाई पठाएको प्रतिवेदनमा उल्लेख छ, 'सम्पूर्ण क्षेत्रबाट घेराबन्दी गर्नुपर्छ ।'

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अपूर्वा श्रीवास्तवले यसबारे आफूलाई जानकारी नरहेको बताइन् । नेपाल सरकारलाई पनि जानकारी नरहेको गृहसचिव डा. गोविन्द कुसुमले बताए । 'केही समयअघि काठमाडौंमा भएको सचिवस्तरीय द्विपक्षीय बैठकमा पनि यस विषयमा कुनै छलफल भएको थिएन,' उनले कान्तिपुरसँग भने ।

उत्तर प्रदेश र बंगालसँग सीमा जोडिएको बाहेक बिहारको किसनगन्जदेखि सुपौलको निर्मलीसम्म सीमा असुरक्षित रहेको उल्लेख गर्दै एसएसबी बिहारका एक उच्च अधिकारीले सीमा पूर्णरूपमा घेर्ने प्रस्ताव केन्द्रलाई पठाएको कान्तिपुरलाई बताए । किसनगन्जस्थित बटालियनका उच्च अधिकारीले कान्तिपुरसँग भने, 'केन्द्रले जे प्रस्ताव मागेको थियो त्यो पठाइदिएका छौं । निर्देशन र बजेट प्राप्त हुँदै घेराबन्दीको काम सुरु गरिनेछ ।'

भारतीय सञ्चार माध्यमले नेपालमा शरण लिएका उग्रवादीका एजेन्टले खुला सीमाको लाभ उठाउने उल्लेख गर्दै आएका छन् । 'नेपालमा बदलिएको चिनियाँ नीति, आतंकवाद, तस्करी, नक्कली नोट लगायतका प्रसंगले भारतलाई काँडेतार लगाउनेतर्फ पहल गर्न बाध्य गरिरहेको छ,' एक उच्च भारतीय राजनीतिक स्रोतले भन्यो ।

दुई वर्षयता ठाउँठाउँमा भारतले सीमाको सुरक्षा व्यवस्थालाई समेत 'हाइटेक' -उच्च प्रविधियुक्त) बनाइरहेको छ । उत्तर प्रदेशसँग सीमा जोडिएका मुख्य आवागमन मार्गमा भारतले सीसीटीभी जडान गरिसकेको छ ।

स्रोतका अनुसार एक वर्षअघिदेखि एसएसबी र नागरिक पुलिसलाई सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउनसमेत निर्देशन दिएको छ । नेपाली महिला बेचबिखन निगरानी गर्न केही समयअघि भारतले महिला शाखा राखेको छ । गतवर्ष केन्द्र सरकारले एसएसबीको नयाँ चौकी निर्माण तथा ७५० महिलाकर्मी तैनाथीको निर्णय गरेको थियो ।

तीन महिनाअघि नयाँदिल्लीमा प्रधानमन्त्री, गृहमन्त्री समेतको संलग्नता रहेको एउटा कार्यक्रममा बिहारका मुख्यमन्त्री नितिश कुमारले समेत नेपालसँग जोडिएको ७२६ किलोमिटर खुला सिमानामा सीमा सडकको निर्माण लगायतबारे विशेष सतर्कताको वकालत गरेका थिए ।

नितिश कुमारले खुला सिमानाबाट गैरकानुनी घुसपैठ, लागू पदार्थको तस्करी, जाली नोट, मानव तस्करी, नक्सलवादी उग्रवाद, अवैध अस्त्रको तस्करीसहित आपराधिक एवं अन्य समस्या उत्पन्न भइरहेको बताएका थिए । उनले भनेका थिए, 'भारत-बंगलादेश, भारत-पाक सीमाजस्तै भारत-नेपाल सीमामा समेत सुव्यवस्थित रूपले प्रबन्धन गर्नु आवश्यक छ ।

No comments:

Post a Comment