Monday, November 30

हतियारबारे भारतसँग कुरा हुने


नेपाल समाचारपत्र, (काठमाडौं) नेपाल र भारतबीच यही मंसिर १९ देखि २२ गतेसम्म सहसचिवस्तरीय सुरक्षा संयन्त्रको बैठक काठमाडौंमा हुने भएको छ।

प्रधानमन्त्री माधवकुमार नेपालको गत अगस्टमा सम्पन्न भारत भ्रमणमा भएको सहमतिबमोजिम बैठक हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयस्रोतका अनुसार बैठकमा भारतले नेपाली सेनालाई उपलब्ध गराउने भनिएको गैरघातक हतियार, गैरसैन्य सामग्री आयात गर्ने र सुर्खेतमा सेनाका लागि हेलिप्याड निर्माणमा सहयोग उपलब्ध गराउने सम्बन्धमा छलफल हुने भएको छ।

रक्षामन्त्री विद्यादेवी भण्डारीको गत साउनमा सम्पन्न भारत भ्रमणका क्रममा भारतले सो हेलिप्याड निर्माण गरिदिने सहमति जनाएको थियो। परराष्ट्रस्रोतका अनुसार बैठकमा भारतीय पक्षले नेपालबाट हुने गरेका भारतविरोधी गतिविधि नियन्त्रणका लागि सहयोगका लागि अनुरोध गर्नेछ।



‘भारत सरकारले भारतीय माओवादीले नेपालको बाटो हुँदै हतियार ओसारपसार गर्ने गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गर्दै आएको छ’, मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग सोमबार भने- ‘त्यस विषयमा यो सुरक्षासम्बन्धी बैठकमा भारतीयहरूले कुरा उठाउने जानकारी पाएका छौँ।’
उनले बैठक नियमित भएको बताउँदै नेपालका माओवादीले भारतीय माओवादीलाई आफ्नो नैतिक र्समर्थन रहेको भनी दिएको अभिव्यक्तिप्रति पनि भारतले आपत्ति जनाउँदै आएको उल्लेख गरेका छन्।

बैठकमा परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख तथा सहसचिव खगनाथ अधिकारीको नेतृत्वमा गृह र रक्षा मन्त्रालय, अनुसन्धान विभाग, सशस्त्र र नेपाल प्रहरीबाट गरी १५ सदस्यीय टोली सहभागी हुने भएको छ। त्यस्तै भारतीय पक्षबाट सहसचिव सतीश मेहता र नेपालस्थित भारतीय दूतावासका पूर्वप्रवक्ता छिरिङ शेर्पालगायत सहभागी हुनुहुने दूतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवले जानकारी दिनुभयो।

No comments:

Post a Comment