Wednesday, October 21

तीन दलीय छलफलबाट सहमति निस्कन नसक्ने, गाँठो झन बल्झिने


Posted By: कबिराज भट्टाराई
2009-10-21
त्यागको कदर: जनआन्दोलनमा दुवै आँखा गुमाएका रवीन श्रेष्ठलाई सीप विकास तालिम केन्द्रमा रोजगारी दिइएको छ। त्यसैको नियुक्तिपत्र दिँदै प्रधानमन्त्री।
एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता मोहन बैद्य किरणले राजनीतिक गतिरोध अन्त्य गर्न गरिँदै आएको तीन दलीय छलफलबाट सहमति निस्कन नसक्ने बताएपछि राजनीतिक गाँठो झन बल्झिने देखिएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो राजनीतिक गतिरोध अन्त्य गर्न दुइतिन दिनभित्रै सहमति निस्कने बताएको भोलीपल्ट, बुधबार, माओवादीका एकजना बरिष्ठ नेता मोहन बैद्य किरणले त्यस्तो संभावना नरहेको बताएका छन्।
प्रचण्डको गत सोमबार सम्पन्न चीन भ्रमण दलका सदस्य समेत रहेका बैद्यले अब आन्दोलन गर्ने र आन्दोलनको बीचबाटै सहमति खोजिने बताए।
प्रचण्डले आफू चीनबाट सकारात्मक भएर आएको र संसदको गतिरोध अन्त्य गर्न सहमति खोजिने दोहोर्‍याएपछि धेरैले चिनियां सुझाव पनि सहमतिकै लागि थियो होला भन्ने अनुमान लगाएका थिए।
तर त्यसको विपरित बरिष्ठ नेता बैद्यले सहमतिको कुनै संभावना नरहेको बताए।
उनले भने, “हामीले धेरै पर्ख्यौं। तर व्यवहारमा लचकता देखिएन। हामी हाम्रो माग त्यसै छोड्नेवाला छैनौं।”
शीर्ष नेताहरुबीच तुरुन्तै बैठक बसेपनि त्यसबाट निकास निस्कन नसक्ने उनले बताए।
आन्दोलन
सेनापति प्रकरणमा राष्ट्रपतिले असंवैधानिक काम गरेको र त्यो सच्चिनुपर्ने आफूहरुको प्रमुख माग रहेको तर सत्ताधारी दलहरुले राष्ट्रपतिको ‘र’ पनि उच्चारण गर्न नचाहेको भन्दै बैद्यले अब माओवादी आन्दोलनमा उत्रने बताए।
राष्ट्रपतिको कदमबारे छलफल गर्न कानुनत: कुनै प्रावधान नरहेकाले पनि उनी विरुद्धको कारवाही प्राकृतिक न्यायको विपरित हुने तर्क कांग्रेसले दोहोर्‍याएको छ।
कांग्रेस प्रवक्ता अर्जुननर्सिंह केसीले भने, “विधि र संवैधानिक उपाय बमोजिम समाधान खोजिनुपर्छ, हामीले यो भनिसक्यौं भन्नु लोकतान्त्रिक सोच होइन”।
यसरी सहमतिको कुरा गर्दै दलहरुले आफ्ना अडानचाहिँ जस्ताको तस्तै राख्दा मुलुक भिडन्ततर्फ लागेको धारणा छ राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठको।
उनले भने, “राष्ट्रपति र प्रधानमन्त्री दुबैले गल्ती गरेका छन्, त्यो स्वीकार गर्ने सहमति पनि राजनीतिक दलहरुले गर्न सक्दैनन् भने मुलुक भिडन्ततर्फ लाग्ने निश्चित छ”।

No comments:

Post a Comment