Wednesday, October 21

भारत र चीनविरुद्ध कुनै ‘कार्ड’ प्रयोग गर्दैनौँ: प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले भारत र चीनविरुद्ध कुनै ‘कार्ड’ प्रयोग नगर्ने बताउनुभएको छ ।
नेपाल दुई ठूला मित्रराष्ट्रहरुको बीचमा रहेकाले यस्तो विशिष्ठ भू-राजनीतक अवस्थाका कारण राष्ट्रिय हितको महत्व अझ बढी रहेको प्रधानमन्त्रीको भनाइ छ । नेपालमा जुनसुकै दलको सरकार बने पनि छिमेकीराष्ट्र भारत र चीनको सम्बन्धलाई आपसी हितका आधारमा उच्च प्राथमिकता दिएको प्रधानमन्त्रीले बताउनुभयो ।
‘एक अर्काको विरुद्धमा हामी कुनै ‘कार्ड’ प्रयोग गर्दैनौँ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘दुई देशसँग आर्थिक, प्राविधिक, व्यापारिक र लगानीका सम्बन्धहरु विस्तार गर्न चाहन्छौँ, यसमा नै हाम्रो सर्वोच्च राष्ट्रिय हित अन्तर्निहित छ ।’
छिमेकीराष्ट्रका वास्तविक चासोप्रति अत्यन्त संवेदनशील रहेको बताउँदै प्रधानमन्त्री नेपालले नेपाली भूभागलाई छिमेकी मुलुकको हित विरुद्धमा प्रयोग गर्न नदिने नीति रहेको सुनाउनुभयो ।
सेन्टर फर साउथ एसिया स्टडिज र कोन्राड एडेनर फाउन्डेसनद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रम उदघाटन गर्दै प्रधानमन्त्री नेपालले आफूले हालै भारतको औपचारिक भ्रमण गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सुदृढ गरेको दावी गर्नुभयो । उहाँले निकट भविष्यमा चीनको भ्रमण गर्ने योजना बनाएको जानकारी दिनुभयो ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु, निर्धारित मितिमा संविधान लेख्नु तथा माओवादी लडाकूको समायोजन गर्नु सरकारको प्रमुख तीन कार्य रहेको बताउँदै प्रधानमन्त्री नेपालले यी दायित्व पूरा गर्न सरकार सक्षम रहेको उल्लेख गर्नुभयो ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजनीतिक दलहरुबीच सहमति र सहकार्य बन्न नसकेमा निर्धारित मितिमै संविधान बन्न नसक्ने बताउँदै माओवादीलाई अलग राखेर नयाँ संविधान बन्न नसक्ने दाबी गर्नुभयो ।

No comments:

Post a Comment