Wednesday, October 14

झण्डा परिवर्तनको बहस झन् बढ्यो/राष्ट्रिय प्रतिकमा पनि विवाद

२०६६ आश्विन २८ - राष्ट्रिय झण्डा फेर्नुपर्ने बिषयमा उपसमितिबाट शुरु भएको विवाद संबैधानिक समितिको मूल बैठकमा झन् चर्किएको छ । झण्डासंगै राष्ट्रिय प्रतिक चिन्हहरु राख्ने कि नराख्ने भन्ने बिषयले पनि विवादको रुप लिएको छ । समितिले बुधबार गरेको राष्ट्रिय झण्डा र प्रतिकलगायतको छलफलमा सभासद्हरुबीच पक्ष र विपक्षमा तिब्र मतभेद देखा परेको छ । माओवादी र आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने सभासद्हरुले झण्डा फेर्नैपर्ने अडान राखेका छन् । अन्य दलका सभासद्हरुले अहिलको झण्डाको अन्तराष्ट्रिय स्तरमा पनि बिषेश महत्व रहेकाले यसको व्याख्यामात्र फरक ढंगले गर्न सकिने तर्क पेश गरेका छन् । माओवादीले राष्ट्रिय प्रतिकको रुपमा कुनै बस्तुलाई राख्न नुहने प्रस्ताव समेत ल्याएको छ । हाल गाई, लालिगुराँस, सि्रमि्रक, डाँफे लाई राष्ट्रिय प्रतिक मानिदै आएको छ । 'एकात्मक राज्यको अवधारणामा बनेको झण्डाले बहुराष्ट्रिय राज्यको प्रतिनिधित्व गर्न सक्दैन' माओवादी सभासद् देव गुरुङले भने, 'बहुराष्ट्रिय राज्यको प्रतिक झल्किने झण्डा बनाउनुपर्छ ।' उनले धेरै जसो मुलुकले राष्ट्रिय प्रतिक राख्न छाडेको उदाहरण पेश गर्दै हाम्रोमा पनि त्यो जरुरी नरहेको बताए ।काँग्रेस सभासद् विमलेन्द्र निधिले संसारभर मौलिक पहिचान बनाएको झण्डा फेर्न नहुने धारणा राखे । 'अहिलेको झण्डा कुनै राजाले प्रयोग गरेको हैन, राजाहरुले आफ्ना लागि छुट्टै झण्डा प्रयोग गर्थे' उनले भने, 'यसलाई राजतन्त्रसँग सम्बन्ध गाँसिएको भन्न मिल्दैन ।' उनले नयाँ व्याख्या गरेर अहिलेकै झण्डालाई कायम राख्नुपर्ने अडान पेश गरे ।राष्ट्रिय प्रतिकहरु राख्न नहुने धारणा पनि ठिक नभएको उल्लेख गर्दै उनले भने, 'राष्ट्रिय प्रतिकले कसैको विभेद गरेको छैन ।'आदिवासी जनजाति महासंघका अध्यक्ष तथा एमाले सभासद् पासाङ शेर्पाले अहिलेको झण्डा पूर्वाग्रही भएको बताए । उनले नयाँ झण्डा फेर्नका लागि राष्ट्रिय गानका लागि जस्तै प्रतियोगिता गर्नुपर्ने प्रस्ताव राखेका छन् ।'यो झण्डा झट्ट हेर्दा देखिने खालको छैन' उनले भने, 'बहुभाषिक, बहुसंस्कृति झल्किने झण्डा हुनुपर्छ ।' एमालेकै अन्य सभासद्हरुले भने झण्डा फेर्न आवश्यक नरहेको धारणा राखे । उनीहरुले पनि परिभाषा मात्र नयाँ ढंगले गर्नुपर्ने उल्लेख गरे ।सभासद्हरु परि थापा, सरिता गिरीलगायतले यसलाई राष्ट्रिय बहसको रुपमा पेश गरेर त्यसपछि मात्र निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका छन् ।केही सभासद्हरुले गैंडालाई राष्ट्रिय जनावरको रुपमा मान्यता दिनुपर्ने प्रस्ताव गरेको छन् । अधिकांसले गाईलाई भने राष्ट्रिय जनावर मान्न नसकिने धारणा राखे । सभासद् गिरीले हिमाल, पहाड र तराईमा पाईने बस्तुहरुलाई सभावेशी रुपमा राष्ट्रिय प्रतिकको रुपमा राख्नुपर्ने प्रस्ताव पेश गरेकी छन् ।

No comments:

Post a Comment