Saturday, October 31

आन्दोलनमा ‘उत्तेजित नहुन’ कार्यकर्तालाई आग्रह

१५ कात्तिक, काठमाडौं । आइतबारदेखि दुई हप्ते आन्दोलनको घोषणा गरेको प्रमुख प्रतिपक्ष एकीकृत माओवादीले शान्तिपूर्ण आन्दोलनमा ‘उत्तेजित नहुन’ कार्यकर्तालाई आग्रह गरेको छ । उसले ‘बीचमा घुसपैठ भएर कसैले उत्तेजित गराउने सक्ने’ भन्दै कार्यकर्तालाई सजग भएर संयमीत ढंगले प्रस्तुत हुनसमेत निर्देशन दिएको छ । उसले जनताको जनसागर उतारेर सभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले शनिबार राजधानीस्थित खन्ना गार्मेन्टमा जिल्ला स्तरीय पार्टी, विभाग, मोर्चा र जनवर्गीय संगठनका कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो निर्देशन दिएका हुन् । उनीहरुले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यकर्तालाई जिम्मेवारी दिने विषयमा प्रशिक्षण दिदै ‘आन्दोलन शान्तिपूर्ण हुने’ बताए । आन्दोलनलाई ‘गरिब र निमुखा जनताको उत्सव’का रुपमा सम्पन्न गर्न नेताहरुको आग्रह थियो । अबको आन्दोलनको स्वरुप कस्तो हुने ? त्यो सरकारको कदममा भरपर्ने उनीहरुको भनाइ थियो ।
‘बीचमा घुसपैठ भएर उत्तेजित बनाउन सक्छन्, सचेत रहनु होला, उत्तेजित नहुनुहोला,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘संयमीतढंगले प्रस्तुत हुन सबैलाई आग्रह गर्छु ।’ उनले यै आन्दोलनले नै ‘भावी आन्दोलन तय गर्ने’ बताउँदै आन्दोलनमा डटेर लाग्न निर्देशन दिए । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंहरु डटेर अघि बढ्नुस्, यसै आन्दोलनले नै भावी आन्दोलनको दिशा निर्धारण गर्ने छ ।’ उनले यो आन्दोलनको मोर्चामा आफ्नो दल विजयी हुने दाबीसमेत गरे । उनले भने, ‘यस मोर्चाको विजयले अर्को युद्धका लागि ढोका खोल्ने छ ।’
प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बन्न राजा ज्ञानेन्द्रकहाँ दाम चढाएको प्रसंग उप्काएर अध्यक्ष दाहालले भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजो प्रधानमन्त्रीका लागि राजाकहाँ बिन्तीपत्र चढाउने र दाम राखेर ढोग्नेहरुले नै आज राष्ट्रपतिलाइ बिन्तीपत्र चढाएपछि समस्या बढेको हो ।’
कांग्रेस, एमालेलगायतका सत्तारुढ दलहरुले ‘सरकार बनाउन आन्दोलनमा गएको भनेर संचारमाध्यमा भ्रम छरेको’ आरोप लगाउँदै ‘भ्रममुक्त हुन’ पनि कार्यकर्तालाई आव्हान गरे । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने,’कोही पनि हाम्रा शुभचिन्तक, कार्यकर्ता सरकार गठनका लागि यो आन्दोलन हो भनेर भ्रममा नपर्नुस् ।
यो आन्दोलन नागरिक सर्वोच्चता, राष्टपति रामवरण यादवको असंवैधानिक कदमको खारेजी र राष्टिय स्वाधिनताको लागि हो ।’ त्यसपछि भने माओवादीले स्वाभाविकरुपमा ‘सरकारको नेतृत्व दाबी गर्ने’ अध्यक्ष दाहालको भनाइ थियो । प्रशिक्षणका क्रममा वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले राष्टपति रामवरण यादवको बैशाख २० गतेको कदमललाई ‘राष्टिय स्वाधिनतामाथिको ‘कु’को संज्ञा दिए।
उनको नभाइ उद्धृत गर्दै एक नेताले भने, ‘राजा ज्ञानेन्द्रले माघ १९ मा गरेको कु लोकतन्त्रमाथिको ‘कु’ हो भने राष्टपतिको कदम अर्को माघ १९ त हो नै, यो राष्टिय स्वाधिनतामाथिको कु हो ।’
बिहान र दिउँसो गरी झण्डै २ हजार जिल्लास्तरीय कार्यकर्तालाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष वैद्य र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले प्रशिक्षण दिएका थिए । स्वायत्त गणराज्य घोषणा, उपत्यका नाकाबन्दी, सिंहदरबार घेराउलगायत दुई हप्ते आन्दोलनको घोषणा गरेको माओवादीले केही दिन यता निरन्तर आन्तरिक प्रशिक्षणलाई तीब्रता दिएको थियो ।

No comments:

Post a Comment