Tuesday, October 20

नेताहरु संवाद र सहमतिबाटै राजनीतिक गतिरोध तोडिनेमा विश्वस्त

सहमतिमा निकास खोज्न मुख्य दलहरु तयार
भट्टाराई कम्पुटर, भैरहवा

मुख्य दलका नेताहरुले सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य हुने विश्वास ब्यक्त गरेका छन् ।
एकीकृत नेकपा माओवादीले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका नेताहरुले बिनासहमति संविधान लेख्न नसकिने बताए । चियापानमा एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाबिचमा रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले एक दुई दिनभित्र राजनीतिक गतिरोध अन्त्य हुने बताउनुभयो । गतिरोध अन्त्य गर्न माओवादी गम्भिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान लेख्न पनि दलहरु मिल्नुको विकल्प नभएको बताउनुभयो ।

एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक दलहरुबिच वातावरण बन्दै गएकाले छिट्टै सहमति निस्कने बताउनुभयो । उहाँले दलहरुले सहमतिबाटै नयाँ संविधान लेख्ने जिम्मेवारी पूरा गर्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले मुलुकले दिएको जिम्मेवारी पूरा गर्न पनि दलहरुबिच सहमति बन्नुपर्ने बताउनुभयो ।

चियापानमा बिभिन्न दलका नेता, उद्योगपति, कुटनीतिक नियोगका अधिकारी, सुरक्षा अधिकारीहरु, मानवअधिकारकर्मी, विभिन्न पेशाकर्मी, कर्मचारी, मजदुर, पत्रकारलगायतका ब्यक्तिहरु सहभागी थिए । चियापानमा सहभागी हुन आउनेलाई अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष मोहन बैद्य, उपाध्यक्षद्वय डा। बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

माओवादीले दशैं, तिहार, छठ तथा नेपालसंवत् ११३० को अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेको हो । यसअघि कोजाग्रत पूणिर्माको दिन नेपाली कांग्रेसले र त्यसको भोलिपल्ट नेकपा एमालेले चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रधानमन्त्री र कांग्रेस सभापति यसैबीच, माओवादीले आयोजना गरेको चियापानमा प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला भने जानुभएन ।
प्रधानमन्त्री नेपाललाई एमाले बरिष्ठ नेताको रुपमा बोलाइएकाले उहाँ माओवादीको चियापानमा नजानुभएको बताइएको छ । प्रधानमन्त्रीले नेपाल संवतका अवसरमा हिजो बालुवाटारमा आयोजना गर्नुभएको चियापानमा पनि माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु जानुभएको थिएन । यस्तै, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पनि माओवादीको चियापानमा जानुभएन । कोइराला अस्वस्थ रहेकाले चियापानमा नजानुभएको स्वकीय सचिव शेखर थापाले जानकारी दिनुभयो ।

चिया कुर्दै भलाकुसारी: नेपाल संवतको नयाँ वर्षको अवसरमा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा संविधानसभा उपाध्यक्ष तथा माओवादी नेता पूर्णा सुवेदी, माओवादी अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता र उपप्रधानमन्त्री सुजाता कोइराला।


माओवादीले आयोजना गरेको चियापानमा सहभागी माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका कार्यवहाक सभापति सुशील कोइराला संवाद र सहमतिबाटै राजनीतिक गतिरोध तोडिनेमामा विश्वस्त देखिएका छन्।


दशैं सकिए लगत्तै चियापान समारोह आयोजना गर्ने नेपाली कांग्रेस र नेकपा एमालेको परंपरालाई पछ्याउदै प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले पनि मंगलबार राजधानीमा एउटा भव्य चियापान समारोहको आयोजना गरेको छ।


तर कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला उपस्थित नभएपछि कतिपय सहभागीले चियापान केही खल्लो भएको अनुभव गरे।
यद्यपी चियापानमा सहभागी वरिष्ठ नेताहरुले गतिरोध तोड्न छिट्टै राजनीतिक संवादलाई तिब्रता दिइने बताए।


राष्ट्रपतिको कदमका विषयलाई लिएर सत्ताधारी दलहरु र प्रमुख प्रतिपक्षी माओवादी दलबीच गम्भीर मतभेद कायमै देखिन्छन्।


तर कार्यक्रममा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका कार्यवहाक सभापति सुशील कोइराला संवाद र सहमतिबाट समाधान निस्कनेमा विश्वस्त थिए।


'लाञ्छना'


पत्रकारहरुको प्रश्नको उत्तर दिदै कोइरालाले राष्ट्रपतिलाई लाञ्छना लगाउने बाहेक सबै विषयमा नेपाली कांग्रेस सहमति गर्न तयार रहेको बताए।


तर माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई लाञ्छना लगाउने आफ्नो दलको उद्देश्य नरहेको जिकिर गर्दै भने, “हामीलाई लाग्छ अन्तरिम संविधान मिचिएको छ, त्यो कता कता कुँडिएको छ, त्यसलाई सम्वोधन गरौं।”


दलहरुबीच बिमती जारी रहेपनि प्रचण्ड एक, दुई दिन भित्रै राजनीतिक सहमति बन्ने र गतिरोध तोडिनेमा आशावादी छन्।


एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषयमा सबै दलहरु गम्भीर भएमा सहमति आफै निस्कने तर्क गरे।


काठमाण्डूको भृकुटीमण्डपस्थित चियापान कार्यक्रम स्थल आगन्तुकहरुले खचाखच थियो।
त्याहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा नेताहरु, सुरक्षा अंगका प्रमुख र कुटनीतिज्ञहरु उपस्थित थिए।


माओवादीले नेपाल सम्वत् ११३०को अवसरमा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको चियापान राजनीतिक भेलामा परिणत भएको जस्तो देखियो।


त्याहाँ प्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित नहुनुलाई कतिपय विश्लेषकहरुले सरकार र माओवादीबीच विश्वासको संकट कायमै रहेको कुराको उदाहरणको रुपमा अर्थ्याएका छन्।


कबिराज भट्टाराई

No comments:

Post a Comment