Saturday, December 19

दिनभरको प्रयास असफल, अन्ततः माओवादीले आमहड्ताल गर्ने

४ पुस, काठमाण्डौ । सत्तारुढ दल एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको आमहड्ताल फिर्ता लिन गरेको दिनभरको प्रयास विफल भएपछि अन्ततः माओवादीले भोलिदेखि आमहड्ताल गर्ने भएको छ ।


एमाले अध्यक्ष झलनाथ खनालले शनिबार बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र अपरान्ह प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटगरि आमहड्ताल फिर्ता गराउन प्रयास गर्नुभएको थियो ।


पार्टी मुख्यालय पेरिसडांडामा दिनभर बसेको माओवादी स्थायी समितिको बैठकले गतिरोध अन्त्यका लागि कांग्रेस र एमाले गम्भिर नभएको भन्दै भोलिदेखिको ३ दिने आमहड्तालमा फिर्ता नलिने निर्णय गरेको छ ।


बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम गलत थियो भन्ने भावपनि झल्काउन कांग्रेस र एमाले तयार नभएको बताउनुभयो ।


अध्यक्ष प्रचण्डले भन्नुभयोः- ‘कांग्रेस र एमाले विशेदीको इशरामा चलेका छन्, त्यसैले उनिहरु सहमति गर्न चांहदैनन् ।’


गतिरोध अन्त्यका लागि वार्ताको ढोका खुल्लै रहेको भन्दै अध्यक्ष प्रचण्डले कैलाली, सल्यान लगायतका स्थानमा भएको घटनामा हामीलाई मुछेर बदनाम गराउन लागि परेको भन्दै त्यस्तो तत्वहरुलाई सचेत रहन खबरदारी गर्नुभयो ।


शान्ति प्रक्रिया एवं संविधान निर्माण प्रति आफूहरु गम्भिर रहेको भन्दै सहमतिका लागि आफूहरुले विभिन्न विकल्पहरु प्रस्तुत गरेको भएपनि कांग्रेस र एमालेले त्यसलाई लत्याएको आरोप लगाउनुभयो ।


माओवादीले भोली आईतबारदेखि मंगलबार सम्म गर्ने आमहडतालका बेला एम्बुलेन्स, कुटनीतिक नियोग एवं पत्रकारहरुको गाडी भने चल्न दिने जनाएको छ ।


यसअघि एमाले अध्यक्ष खनालले सहमतिको प्रयास स्वरुप कांग्रेस सभापति कोइराला र अध्यक्ष प्रचण्डसंग भेटगरि आजै सांझ सम्म गतिरोध अन्त्यका लागि प्रमुख तीन दलको शिर्ष नेताहरुको बैठक बस्ने सहमति गर्नुभएको थियो ।



कोइरालालाई भेट्न महाराजगंज पुग्नु भएका खनाललाई सभापति कोइरालाले सहमतिको पहल गर्न सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो । कोइरालालाई भेटे लगत्तै प्रचण्डलाई भेट्न खनाल पेरिसडांडा पुग्नु भएको थियो ।



प्रचण्डसंगको भेटमा खनालले आमहड्तालका कार्यक्रम फिर्ता लिएर वार्ताको माध्यमबाट सहमति खोज्न आग्रह गर्नुभएको थियो । जवाफमा खनालले स्थायी समितिको बैठक पछि मात्रै आमहड्तालको बारेमा विचार गर्ने बताउनुभएको थियो ।



अध्यक्ष खनालले गतिरोध अन्तयका लागि गतिरोध अन्त्यका लागि लगभग सहमतिको नजिक पुगेको र सांझ सम्ममा सहमति हुने विश्वास व्यक्त गर्नुभएको थियो ।



यसअघि पनि सहमतिका लागि बस्ने भनिएको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक दलहरुको आ-आफ्नै अडानका कारण बस्न सकेको थिएन ।



यसैवीच आमहड्तालको पूर्वसन्ध्यामा माओवादीले राजधानी लगायत देशभरको मुख्य शहरहरुमा शनिबार सांझ मसाल जुलुस प्रदर्शन गरेको छ ।



नागरिक सर्वोच्चताको माग राख्दै तेस्रो चरणको आन्दोलनमा रहेको माओवादीले भोलिदेखि ३ दिन सम्म गर्ने आमहडताललाई सफल पार्नका लागि देशभर मसालजुलुस प्रदर्शन गरेको जनाएको छ ।


माओवादीले राजधानीको रत्नपार्क लगायत देशका मुख्य शहरहरुमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता स्थापना हुनुपर्ने, आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने लगायतका माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आईरहेको छ ।

No comments:

Post a Comment