Wednesday, November 18

कोइरालालाई उपचार गर्न २ करोड सहयोग/राज्यमन्त्रीलाई माफ माग्न प्रमको निर्देशन

सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सिंगापुरमा उपचार गर्न २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कोइरालाको उपचार र आतेजाते सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै हाललाई पेश्कीस्वरूप २ करोड रुपैयाँ दिएको हो। रगतमा अक्सिजनमा कमीका कारण अस्वस्थ भई सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएका कोइरालालाई शनिबार सिंगापुरबाट एअर एम्बुलेन्स मगाई उपचारका लागि लगिएको छ।


एअर एम्बुलेन्सको भाडा, कोइरालाका चिकित्सकद्वय मनबहादुर केसी र जिजु नाथ पोखरेल, सहयोगी छोरी उपप्रधानमन्त्री सुजाता, भतिजा शेखर कोइराला, स्वकीय सचिव शेखर थापा र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनीसमेत सिंगापुरमा छन्।


कोइरालाको एअर एम्बुलेन्स, अस्पतालमा परिक्षण तथा उपचार खर्च, कोइरालाका नेपाली चिकित्सक र सहयोगीहरूको होटल खर्च, आते-जाते हवाई खर्च गरी २ करोड रुपैयाँ लाग्ने अनुमान गरी सरकारले त्यति रकम विनियोजन गरेको हो। सरकारले त्यसभन्दा बढी खर्च लागेमा समेत बेहोर्ने जानकारी मन्त्रिपरिषद् स्रोतले दिएका छन्।


सरकारले मोदनाथ प्रश्रितको संयोजकत्वमा सहीदहरू कस्तोलाई मान्ने भन्ने आधार तय गर्न समिति गठन गरेको छ। माग हुनासाथ जसलाई पनि सहिद भन्ने गरिएकाले सहिदको एउटा स्थायी मापदण्ड बनाउन सरकारले सो समिति गठन गरेको हो।


साना सहरी खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि एशियाली विकास बैंकबाट ऋण प्राप्त गर्न अर्थ मन्त्रालयलाई सम्झौंता गर्ने स्वीकृति गरेको छ। विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकसँग नौ करोड ५० लाख डलर बराबरको सम्झौंता गर्न स्वीकृति दिएको छ।


सरकारले भु-उपयोग परिषद् गठन गर्ने निर्णय गरेको छ। टिम्बर कर्पोरेसनको अध्यक्षमा भरतबहादुर चन्द र महासचिवमा दीपक उपाध्यायलाई नियुक्ति गरेको छ। मन्त्रिपरिषदले राष्ट्रिय अनुसन्धान विभागको निर्देशकमा ऐनवीरजंग राणालाई बढुवा गरेको छ। राष्ट्रिय अनुसन्धान विभागको नियमावलीमा बढुवा हुन कम्तिमा चार वर्ष काम गरेको हुनुपर्ने व्यवस्था संशोधन गरी दुई वर्षमा झारेर राणालाई बढुवा गरिएको हो।


चार एआईजीको सरूवा
सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त प्रहरी महानिरीक्षकलाई सरूवा तथा जिम्मेवारी हेरफेर गरेको छ। कल्याणकुमार तिमिल्सिनालाई महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरूवा गरिएको छ।


रविन्द्रप्रताप शाहलाई प्रतिष्ठानबाट मानव स्रोत विभागमा ल्याएको छ। नरेश गुरूङलाई मानव स्रोतबाट प्रशासन महाशाखामा पठाइएको छ। मदन खड्कालाई प्रशासनबाट महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरूवा गरिएको छ।


वेगमलाई माफ माग्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार अपरान्ह कृषि राज्य मन्त्री करिना बेगमलाई सिडियो कुटेको प्रकरणमा माफी माग्न निर्देशन दिएका छन्। वेगमलाई आफ्नै कार्यालयमा बोलाएर घटनाको जानकारी लिई माफ माग्न प्रधानमन्त्रीले निर्देशन दिए पनि बेगमले भने प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बुझ्न आफू प्रधानमन्त्री कार्यालय आएको प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिइन्।

No comments:

Post a Comment