Thursday, October 22

माओवादीले आन्दोलनको निर्णय लिन तीन दलीय कार्यदलको निष्कर्ष पर्खने

राजनीतिक गतिरोध तोड्न सहमति र आन्दोलनमा जाने कुरा सँगसँगैजसो गर्दै आएको माओवादीको स्थायी समिति बैठकले अन्तिम निर्णय लिन तीन दलीय कार्यदलको निष्कर्ष पर्खने भएको छ।
कार्यदलबाट आउने परिणामपछि बस्ने बैठक निर्णायक हुने माओवादी नेताहरुले बताएका छन्। स्थायी समिति बैठक शुक्रबार पनि जारी रहने छ।
तीन दलीय कार्यदलको बैठक टुंगिनसकेकाले विहिवार बसेको माओवादी स्थायी समिति बैठकमा त्यसलाई कुर्ने निर्णय गरिएको बताइएको छ।
संभावना
सेनापति प्रकरणमा राष्ट्रपतिको कदमबारे कुनै न कुनै रुपमा संबोधन गर्ने सहमति नभए आफुहरुसँग आन्दोलनको विकल्प नरहेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
उनले भने, “सहमतिको संभावना न्यून देखिन्छ र हामी अब धेरै कुर्नेवाला छैनौं”।
माओवादीले आफ्नो आन्दोलनको शुरुवात नै सेनापति प्रकरणमा राष्ट्रपतिको कदमबाट भएकाले साझा संकल्प प्रस्तावमा सो मुद्दाको संबोधन हुनैपर्ने अडान लिंदै आएको छ।
सत्ताधारी एमाले र कांग्रेसले भने तत्कालीन प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै असंवैधानिक काम गरेको भन्दै राष्ट्रपतिलाई विवादमा तान्न नहुने अडान राख्दै आएका छन्।
शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र संविधान लेख्न प्रमुख दलहरुबीच सहमति आवश्यक रहेकाले आफुहरु हदैसम्मको लचकता अपनाउन तयार रहेको प्रमुख दलहरुले बताए पनि राष्ट्रपतिको कदम ठीक र बेठीक भन्नेमा तीनै दल आ आफ्ना भनाइमा टसमस नहुँदा समस्या ज्यूँका त्यूँ रहेको छ।
आरोप
संसदको सबैभन्दा ठूलो दल माओवादीले आफुहरुलाई एक्ल्याएर अरु दलले राष्ट्रपति शासन लगाउने षडयन्त्र गरिरहेको आरोप समेत लगाउँदै आएको छ।
माओवादीका अर्का उपाध्यक्ष मोहन बैद्य किरणले भने, “षडयन्त्रको आशंका पहिलेदेखि छ।”
संविधानसभा निर्वाचनपछि सहमतिमा संविधान बनाउने मुख्य कार्यादेश भएका तीन प्रमुखदलहरुबीच विद्यमान चरम अविश्वास र तिनीहरू एकले अर्कोलाई कमजोर बनाउने चालमा केन्द्रीत हुनुले राजनीतिक गाँठो झन कसिंदै गएको विश्लेषकहरुको धारणा छ।

No comments:

Post a Comment