Tuesday, October 27

माओवादीद्वारा दोश्रोचरणको आन्दोलन घोषणा


कबिराज २०६६-०७-११





स्वायत्त गणराज्यहरु घोषणा गर्नेसम्मका संर्घषका कार्यक्रमसहित माओवादीले कात्तिक १५ गतेदेखि दोश्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको आज बसेको सचिवालय बैठकले सहमतिको लागि सरकारलाई दिएको अल्टिमेटम अनुसार कात्तिक १५ सम्म सहमति नबने सोही दिन साँझदेखि २ हप्तासम्मका लागि दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
समितिका संयोजक डा.बाबुराम भट्टराईले सरकारले हिंसा र मुठभेडतिर नगई दोश्रो चरणको आन्दोलनलाई सम्बोधन गर्छ भन्ने विश्वास लिइएको तर त्यसो नभएमा तेश्रो चरणमा आमहडतालसम्मको आन्दोलन घोषणा गरिने चेतावनी दिनुभयो । सरकारलाई नागरिक अवज्ञा तथा आमहडताल सम्मको कार्यक्रम तेश्रो चरणमा घोषणा गरिने उहाँले बताउनुभयो ।
सयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल
केन्द्रीय समिति
United National People’s Movement, NepalCentral Committee
दोस्रो चरणको संघर्षको कार्यक्रम

१. कार्तिक १५ गते साँझ – देशव्यापी मसाल जुलुस
२. कार्तिक १६ गते – सबै गाविस/न.पा. कार्यालय घेराउ तथा जनसभा
३. कार्तिक १८ र १९ – सबै जिल्ला प्रशासन कार्यालय घेराउ
४. कार्तिक २३ गते – स्वायत्त गणराज्यहरू घोषणा (साइनबोर्ड राख्ने इत्यादी)
५. कार्तिक २४ गते – काठमाडौं उपत्यका नाकाबन्दी (एअरपोर्ट समेत)
६. कार्तिक २६ र २७ – सिंहदरबार घेराउ
यो चरणको संघर्षपछि पनि माग पुरा नभएमा तेस्रो चरणमा अझै उच्चस्तरको नागरिक अवज्ञा तथा आम हड्ताल लगायतका कार्यक्रम ल्याइनेछ ।
केही प्रमुख नाराहरू
१. राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर, नागरिक सर्वोच्चता कायम गर ।
२. शान्ति र नयाँ संविधान सुनिश्चित गर, शान्ति सम्झौता विरोधी गतिविधि बन्द गर ।
३. कठपुतली सरकार विघटन गर, राष्ट्रिय संयुक्त सरकार गठन गर ।
४. महँगी, अभाव, भ्रष्टाचार नियन्त्रण गर, जनजीविका र रोजगारीको ग्यारेन्टी गर ।
५. राष्ट्रिय स्वाधीनताको रक्षा गर, वैदेशिक हस्तक्षेप बन्द गर ।
मितिः २०६६ कार्तिक १० गते,

No comments:

Post a Comment