Tuesday, October 13

गिरिजाप्रसाद कोइरालाको अनुरोधमा सुजाता कोइराला उप-प्रधानमन्त्री पदमा नियुक्त



नेपाली कांग्रेसकी नेतृ परराष्ट्र मन्त्री सुजाता कोइरालाले सोमबारदेखि देशको उप प्रधानमन्त्री बनेकी छिन्। प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अनुरोधमा कोइरालालाई उप प्रधानमन्त्री पद दिएको बताए।
कोइरालाले सोमबार साँढे ६ बजे राष्ट्रपति कार्यालयमा उपप्रधान मन्त्रीका रुपमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री माधव नेपालबाट सपथ लिइन्। सपथ पछि प्रधानमन्त्रीले भने, 'कांग्रेसले के निर्णय गरेको छ मलाई केही थाहा छैन। मैले गिरिजाबाबुले भनेअनुसार गरेको हुँ।'सपथ ग्रहण पछि प्रतिक्रिया दिदैं कोइरालाले भनिन् - "मलाई पार्टी सभापति गिरिजाबाबुको पूर्ण समर्थन र सहयोग छ। यो पार्टीले गर्ने काम पनि होइन। प्रधानमन्त्रीले बनाउने हो उप प्रधानमन्त्री। मलाई माधवजीले भनेपछि म उप प्रधानमन्त्री बनेकी हुँ। पार्टी भित्र पनि कसैले विरोध गरेको छैन। जिल्ला जिल्लाबाट शुभकामना र बधाई आइरहेको छ। अब म थप शान्ति र स्थायित्वका लागि प्रयास गर्नेछु। सरकारलाई कांग्रेस र मेरो पूर्ण सहयोग रहनेछ।" कोइरालालाई यसअगाडि उप प्रधानमन्त्री बन्न नपाएकोमा प्रधानमन्त्रीसँग दुई महिना अगाडि भारत नगएको आरोप कोइरालालाई लागेको थियो।नेपाली कांग्रेसका नेताहरुले कोइरालालाई उप प्रधानमन्त्री बनाउन प्रधानमन्त्रीलाई आग्रह नगरेको पटक पटक दोहोर्याएका थिए। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भने आफ्नी छोरीलाई कोइरालालाई उप प्रधानमन्त्री बनाउन पटक पटक दबाब दिंदै आएको सञ्चार माध्यमले उल्लेख गरेका थिए।सपथ ग्रहणमा गएका अर्का उप प्रधानमन्त्री विजय गच्छदारले भने आफूसँग भन्ने कुनै कुरा नभएको भन्दै सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिएनन्। नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेकी कोइराला उप प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदको वरियाता क्रममा उप प्रधानमन्त्री विजय गच्छदार भन्दा पछि हुनेछिन्। नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले कोइरालालाई उप प्रधानमन्त्री बनाउने विषयमा पार्टीमा कुनै छलफल नभएको बताए। यस अगाडि कांग्रेस विज्ञप्ति प्रकाशित गरी पार्टीले प्रधानमन्त्रीसँग उप प्रधानमन्त्री पद नमागको स्पष्ट पारेको थियो।कोइरालालाई नेपाली कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरी पठाउँदा चार महिना अगाडि कांग्रेसका केन्द्रीय नेताहरुले असन्तुष्टि जाहेर गरेका थिए। कोइरालालाई उप प्रधानमन्त्री बनाएकोमा कांग्रेसका गगन थापासहितका केही युवा नेताहरुले विज्ञप्तिमार्फत विरोध गरेका छन्।

No comments:

Post a Comment